गोरखा । गोरखा जेसीजले भाद्र १ गतेदेखी जेसीज सप्ताह मनाउने तयारी गरेको छ । सप्ताह भाद्र ७ गतेसम्म सञ्चालनमा आउने अध्यक्ष सुमन गुरुङले जानकारी दिए ।
जेसीज सप्ताह–२०२५ नाम दिएको उक्त कार्यक्रमको मुल संयोजक रचन परियार चयन भएका छन् । परियारको संयोजकत्वमा ९ सदस्यीय समिति चयन गरिएको छ ।
जेसीज सप्ताहका पहिलो दिन समुदघाटन तथा खुल्ला दौड प्रतियोगिता हुने भएको छ । भाद्र १ गते हुने उक्त कार्यक्रमकालागि सुजित श्रेष्ठ संयोजक चयन भएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा गोरखा नगरपालिका–५ को पश्लाङ चौताराबाट सुरु भएर ५ नम्बर वडा कार्यालय–मैदान–ठूलो आँगन–पाटेचौर–हस्पिटल चोक–हरमटारी चोक–शक्ति चोक–बसपार्क हुदै नयाँ बसपार्कबाट कालो बरको चौतारा–धारापानी हुदै पँदेली महादेव स्थानमा पुगेर समापन हुने छ ।
६ किलो मिटर ५०० मिटरको उक्त दौडमा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश. १५ हजार, ७ हजार ५०० सय, ४ हजार र २ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।
दौडमा सहभागी सबै खेलाडीहरुलाई टिसर्ट र प्रमाणपत्र प्रदान गरिने पनि उनले बताए ।
सप्ताहकै दोस्रो दिन भाद्र २ गते आरुघाट गाउँपालिकाको आरुघाट बजारमा रहेको भिमोदय बहुमुखी क्याम्पसमा जनचेतना मुलक कार्यक्रम, भाद्र ३ गते सिरानचोक गाउँपालिकामा शैक्षिक सामाग्री बितरण, भाद्र ४ गते गोरखा नगरपालिका–३ को घलाङमा रहेको राष्ट्रिय माविमा स्वास्थ्य शिविर, भाद्र ५ गते जेसीजको पुरानो बसपार्कमा रहेको प्रतिक्षालय सरसफाई तथा गोरखा अस्पतालमा फलफुल बितरण, भाद्र ६ गते गोरखा सदरमुकामको पाटेचौरमा रहेको शक्ति माविमा वक्तृत्वकला प्रतियोगिता र भाद्र ७ गते पुरानो बसपार्कमा सुस्त गतिमा मोटरसाइकल तथा स्कुटर चलाउने प्रतियोगिता र सोही दिन साँझ नेपाली काँग्रेसमा गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेत नन्द प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन हुने मुल संयोजक परियारले बताए ।
गोरखा जेसीजका अनुसार उक्त कार्यक्रमकालागि क्रमश. युनिक अर्याल, सन्दिप बयलकोटी, संगम बावु श्रेष्ठ, श्याम आले मगर, सन्दिप ढकाल, जीवन थापा र बुद्वि जोगी चयन भएका छन् ।



