गोरखा । गोरखा सदरमुकाममा निजी स्तरबाट निर्माण गरिएकाे सुविधा सम्पन्न अस्पताल भाद्र १ गतेदेखी नियमित सञ्चालनमा आउने भएको छ ।
गोरखा र चिवतनका ब्यवसायीहरु मिलेर ५५ करोड ७५ लाख २५ हजार खर्चेर बनेकाे एनपिआई गाेरखा अस्पताल नियमित सञ्चालनमा ल्याउन लागिएकाे अस्पताल ब्यवस्थाप समितिका अध्यक्ष लेखराज पन्त (हरी)ले बताए ।
गोरखा नगरपालिका–८ को अर्चले फाँट, नमूना प्रतिक्षालय टोलमा हालै निर्माण सम्पन्न भएको अस्पताल चितवनको भरतपुरमा रहेको एनपिआइ नारायणी सामुदायिक अस्पताल संग आबद्व रहेको अध्यक्ष पन्तले जानकारी दिए ।
उनका अनुसार अस्पताल सञ्चालनकोलागि हालै मात्र गण्डकी प्रदेशको स्वास्थय मन्त्रालयबाट १०० बेडको स्विकृती पाएको हाे ।
अत्याधुनिक मेशिनहरु जडित अस्पतालमा सबै प्रकारकाे सेवा सुविधा लिन सकिने भएकाे छ ।
२०७७ साल माघ ५ गतेबाट निर्माण सुरु गरेको अस्पताल ६ बर्षमा निर्माण सम्पन्न भएको थियाे । भवन निर्माणकोलागि शेयर सदस्यहरुबाट २२ करोड ८८ लाख र बैंक मार्फत २६ करोड २२ लाख ऋण लिएर निर्माण गरिएको अध्यक्ष पन्तले बताए ।
९ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा बहिरंग र अन्तरंगका साथै, भिआईपीहरुको सेवाकालागि समेत वार्ड बनाइएको छ ।
जिल्लामा नै पहिलो पटक अस्पतालले सिटी स्क्यान मेशिन जडान गरेको छ । अस्पतालले सुरुमा ७ विशेषज्ञ चिकित्सकहरु सहित सेवा दिने भएको छ ।
अस्पतालले ७ विशेषज्ञहरुमा फिजिसियन, हाडजोर्नी, बालरोग, स्त्री, सर्जन, रेडियोलोजिष्ट र एनेथेसियोलोजिष्ट सेवा दिने भएको छ ।
त्यस बाहेक पनि नाक, कान, घाँटी रोग, छालारोग र नशा तथा मानसिक रोगका चिकित्सक सेवा समेत अस्पतालबाट पाउन सकिने भएको छ ।
अस्पतालले आफ्नै फार्मेशी समेत सञ्चालनमा ल्याउन लागेको अध्यक्ष पन्तले जानकारी दिए ।
अस्पतालले आज हिन्दु परम्परा अनुसार बिशेष पूजा अर्चना गरेकाे छ । अस्पताल शुभारम्भ भएकाे शुभअवसर पारेर भाद्र १ गते सबै प्रकारकाे उपचारमा ५० प्रतिशत र २ र ३ गते २५ प्रतिशत छुटकाे समेत ब्यवस्था मिलाएकाे अध्यक्ष पन्तले जानकारी दिए ।






