गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सार्वजनिक क्षेत्रमा सार्वजनिक जग्गाा अतिक्रमण तथा गैह्रकानुनी क्रियाकलाप रोकथाम र न्युनीकरणका लागि संयुक्त वन गस्ती सुरु गरिएको छ ।
मनास्लु संरक्षण क्षेत्र आयोजना, सिर्दिबास र सामा प्रहरी चौकी, संरक्षण क्षेत्र व्यवस्थापन समिति, चुमनुब्री गाउँपालिका अन्र्तगतपर्ने आङ्गा, पाङसिङ, फिलिम वन व्यवस्थापन उपसमिति, सामा पर्यटक तथा वनपैदावार चेकपोष्टको समन्वयमा गस्ती तथा अनुगमन थालिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।
मनास्लु संरक्षण क्षेत्र भित्र स्थानीय वन क्षेत्रमा हुने अवैध रूख कटानी, जडीबुटी संकलन तथा चोरी–सिकारी एवं सार्वजनिक जग्गा अतिक्रमणजस्ता गैरकानुनी क्रियाकलापहरुको रोकथाम नियन्त्रण र न्युनीकरणका लागि अनुगमनका साथै स्थानीयवासीलाई संरक्षणको महत्वको बारेमा सचेतना प्रदान गर्न सुरु गरिएको उनको भनाई छ ।
“स्थानीय तह र समुदायको सहकार्य विना दिगो वन तथा जैविक विविधता संरक्षण सम्भव छैन, प्रमुख शेरचनले भने, ‘‘यस्ता संयुक्त अभियानले संरक्षणसंगै समुदायमा पनि सुरक्षाको भावना जागृत गराउँदछ र अवैध क्रियाकलाप हुनबाट रोक्न तथा संलग्न हुने मनसाय भएका व्यक्तिहरुमाथि पनि दबाब सिर्जना हुन्छ ।”
पहिलो चरणमा सिर्दीबास र सामागाउँ क्षेत्रबाट गस्ती थालिएको उनको भनाई छ । प्रमुख शेरचनका अनुसार संयुक्त गस्ती टोलीले जंगल क्षेत्रको अवलोकन गरेर संवेदनशील क्षेत्रहरुको पहिचान गरि निरन्तर निगरानी बढाइनेछ ।
साथै अनुगमनका क्रममा भेटिएका बन्यजन्तु, चराचुरुङ्गी, बनस्पति र वन्यजन्तुहरुको अवस्था, वन बाटोहरुको अवस्था र सार्वजनिक सम्पत्तिको प्रयोग सम्बन्धमा अभिलेख तयार गरिएको प्रमुख शेरचनले बताए ।
“मनास्लु क्षेत्रको संरक्षण, सम्बृद्र्धन र प्रवद्र्धनका लागि स्थानीयबासी नै पहिला जागरुक भए भने मात्र त्यहाँको जल,जंङ्गल र बन्यजन्तु जोगाउन सकिन्छ, प्रमुख शेरचनले भने, “यस्तो कार्यक्रमलाई अझ बढाउदै समुदायको सहभागितामा पनि अभिबृद्धि गर्नु आवश्यक छ ।” संयुक्त वन गस्तीले सामुदायिक चेतना अभिवृद्धि गर्नुका साथै कानुनी कार्यान्वयनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।



