गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले दुहुना गाई र भैंसी पाल्ने किसानलाई प्रत्साहनस्वरूप अनुदान दिने निर्णय गरेको छ ।
गाउँपालिकाको १४१औं कार्यपालिका बैठकले दुहुना भैंसीपालक किसानलाई १० हजार र दुहुना गाईपालकलाई ५ हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको हो ।
गाउँपालिकाको १४१औं कार्यपालिका बैठकले उक्त कार्यबिधि समेत पास गरेको पालिका अध्यक्ष दीपक तिमिल्सिना ‘सकार’ले जानकारी दिए । स्थानीय किसानलाई पशुपालनतर्फ आकर्षित गर्न र दुधजन्य उत्पादनमा आत्मनिर्भरता बढाउन यो कार्यक्रम ल्याइएको उनले बताए ।
गण्डकी गाउँपालिकाले यसअघि पनि तरकारी किसानलाई उत्पादनमा आधारित अनुदान दिदै आएको छ । पालिकाले उत्पादन र श्रमलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रलाई व्यावसायिक बनाउने योजना अघि समेत सारेको जनाएको छ ।
पालिकाले दुहुना गाई र भैंसी पाल्ने किसानलाई प्राेत्साहनस्वरूप नगद अनुदान दिने निर्णयपछि पशुपालक किसानहरु खुशी भएका छन् ।
गाउँपालिकाले कृषि र पशुपालनलाई गाउँको मेरुदण्डको रूपमा लिएको गाउँपालिक अध्यक्ष तिमिल्सिनाले बताए । ‘किसान बिना गाउँको विकास अपूरो हुन्छ । यो अनुदान उत्पादनमुखी बनाउने यात्रातर्फ प्रयास हो’ उनले भने, ‘गाई–भैसीको दूध बेचेर आत्मनिर्भर हुने सपना देखिरहेका किसानलाई हामीले साथ दिएका हाै ।’


