गोरखा । गोरखा सदरमुकाममा निजी स्तरबाट सुविधा सम्पन्न अस्पताल निर्माण सम्पन्न भएको छ ।
गोरखा र चिवतनका ब्यवसायीहरु मिलेर ५५ करोड ७५ लाख २५ हजार खर्चेर सुविधा सम्पन्न अस्पतालको निर्माण गरेका हुन् ।
अस्पतालको नाम एनपिआइ गोरखा हस्पिटल प्रालि राखिएको छ । गोरखा नगरपालिका–८ को अर्चले फाँट, नमूना प्रतिक्षालय टोलमा हालै निर्माण सम्पन्न भएको अस्पताल चितवनको भरतपुरमा रहेको एनपिआइ नारायणी सामुदायिक अस्पताल संग आबद्व रहेको अस्पताल ब्यवस्थाप समितिका अध्यक्ष लेखराज पन्त (हरी)ले बताए ।
अध्यक्ष पन्तका अनुसार अस्पताल सञ्चालनकोलागि हालै मात्र गण्डकी प्रदेशको स्वास्थय मन्त्रालयबाट १०० बेडको स्विकृती पाएको छ ।
आउदो भाद्र १ गतेबाट सञ्चालमा ल्याउने तयारी गरिहेको अस्पतालले सबै सेवाकालागि अत्याधुनिक मेशिनहरु खरिद गरेर जडान गरिसकेको छ ।
२०७७ साल माघ ५ गतेबाट निर्माण सुरु गरेको अस्पताल ६ बर्षपछी निर्माण सम्पन्न भएको हो । भवन निर्माण निर्माणकोलागि शेयर सदस्यहरुबाट २२ करोड ८८ लाख र बैंक मार्फत २६ करोड २२ लाख ऋण लिएर निर्माण गरिएको अध्यक्ष पन्तले बताए ।
९ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा बहिरंग र अन्तरंगका साथै, भिआईपीहरुको सेवाकालागि समेत वार्ड बनाइएको छ ।
जिल्लामा नै पहिलो पटक अस्पतालले सिटी स्क्यान मेशिन जडान गरेको छ । अस्पतालले सुरुमा ७ विशेषज्ञ चिकित्सकहरु सहित सेवा दिने भएको छ ।
अस्पतालले ७ विशेषज्ञहरुमा फिजिसियन, हाडजोर्नी, बालरोग, स्त्री, सर्जन, रेडियोलोजिष्ट र एनेथेसियोलोजिष्ट सेवा दिने भएको छ ।
त्यस बाहेक पनि नाक, कान, घाँटी रोग, छालारोग र नशा तथा मानसिक रोगका चिकित्सक सेवा समेत अस्पतालबाट पाउन सकिने भएको छ ।
अस्पतालले आफ्नै फार्मेशी समेत सञ्चालनमा ल्याउन लागेको अध्यक्ष पन्तले जानकारी दिए ।






