गोरखा । हिजो रातीदेखी परेको झरीका कारण गोरखाको विद्युत अबरुद्व भएको छ । आँबुखैरेनीबाट गोरखा बजार तर्फ आउने १३३ केभिएको मुख्य पोल ढलेका कारण बिहानैदेखी बिद्युत अबरुद्व भएको हो ।
गोरखा नगरपालिका–६ को कारागार पछाडी रहेको पोल झरीका कारण बिहान ८ बजेतिर ढलेको नेपाल बिद्युत प्राधिकरण, गोरखा बितरण केन्द्रका प्रमुख चिज बहादुर गुरुङले बताए ।
उनका अनुसार ढलेको पोल उठाउने प्रयास भईरहेको भएतापनि पानी परिहेकाले काममा समस्या भएको छ । पोल उठाएर डबल सर्किट लाइन बनाएर मात्र बिद्युत सुचारु हुने गुरुङले जानकारी दिए ।
गोरखा बितरण केन्द्रमा आउने मुख्य लाइनको पोल नै ढलेका कारण बुंकोट, नयाँबजार, महेन्द्र ज्योति र छेवेटार सहितको ४ वटै फिडरबाट बितरण हुने बिद्युत अबरुद्व हुदा करिब १६ हजार घर प्रभावित बनेको छ ।
प्रमुख गुरुङले तनहुँबाट ठाँटीपोखरी हुदै सिरानचोक फिडरमा पुगेको बिद्युत छेवेटारसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको पनि जानकारी दिए । उक्त लाइन छेवेटारसम्म सञ्चालनमा आएमा दिउसो नै गोरखा बजार क्षेत्रको बिद्युत भने सुचारु गर्न सकिने उनले जानकारी दिए ।


