गोरखा । गोरखामा रासायनिक मलको अभाव भएको भन्दै योङ कम्युनिस्ट लिग वाईसियल नेपाल जिल्ला समिति गोरखाले प्रमुख जिल्ला अधिकारीलाई ध्याकर्षण गराएकाे छ ।
किसानलाई सहज रुपमा मल उपलव्ध गराउन माग गर्दै उनीहरुले प्रजिअ राजु राम कडरीयालाई ज्ञापनपत्र बुझाएकाे हाे ।
ज्ञापन पत्रमा जिल्लामा रासायनिक मलको सहज आपूर्तिको ब्यबस्था मिलाउन माग गरेको छ । समयमा मल उपलब्ध नहुदा किसानको उत्पादन, माटोको गुणस्तर र दीर्घकालीन कृषि प्रणालीमा गम्भीर असर पार्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
“समयमा रासायनिक मल गाउँगाउँमा वितरण हुन सकेको छै , जसले गोरखा जिल्लाका किसानहरूको उत्पादनमा संकट निम्त्याउन सक्छ” ज्ञापन पत्रमा भनिएको छ ।
अध्यक्ष सुसिल गुरुङ र इञ्चार्ज सागर श्रेष्ठ द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मल वितरण प्रक्रियामा दलाल र विचौलियाको संलग्नता रहेको भन्दै सरकारले समयमा मल आपूर्ति गर्न नसकेको, वितरण प्रणालीमा पारदर्शिता नरहेको र किसानहरू मलको अभावमा समस्यामा परेको भन्दै गम्भीर आपत्ति जनाइएको छ ।
“सरकारको ढिलासुस्ती, स्थानीय निकायको मौनता र संवेदनशील विषयमा केन्द्रले आवश्यक ध्यान नदिएको अवस्था रहँदा हामी चुप बस्न सक्दैनौं,” ज्ञापनपत्रमा भनिएको छ ।
वाईसियल गोरखाले अबको केही दिनभित्रै रासायनिक मलको सहज वितरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । वाइसीएलले मलको कालोबजारी रोक्न, किसानको नाममा आएको मल उनीहरूलाई सहज रूपमा उपलब्ध गराउन समेत माग गरेको छ ।
केही वर्षयता मलको अभावका कारण किसानहरू मारमा परिरहेका बेला वाईसियलको ध्यानाकर्षणलाई गम्भीरता पुर्वक लिने प्रमुख जिल्ला अधिकारी कडरीयाले बताए ।



