गोरखा । राष्ट्रिय विभूति मुख्तियार भीसमेन थापाको २५१औँ जन्मजयन्ती आज गोरखामा बिभिन्न कार्यक्रम गरि मनाइएको छ । थापाको जन्मथलो भीमसेन थापा गाउँपालिका–८, बोर्लाङ र गोरखा नगरपालिका–४ पिपलथाेक ( मामाको घर) मा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर जन्मजयन्तीको अवसरमा श्रद्धान्जली व्यक्त गरिएको हो ।
भीमसेन थापा बोर्लाङ प्रतिष्ठान र भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ र ८ को संयुक्त आयोजनामा थापाको पुर्खौलीथलोमा जन्मजन्यन्तीको अवसरमा ठाँटीबजारदेखि भीमसेन थापाको हवेली दरबारसम्म पन्चेबाजासहित नाचगान एवं र्याली निकालिएको प्रतिष्ठानका उपाध्यक्ष भोजबहादुर थापाले जानकारी दिए ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री एकनाथ ढकाल, भीमसेन थापा गाउँपालिकाकाकी उपाध्यक्ष अमृतदेवी वस्ती (भट्ट), लगायतले हवेली दरबारमा रहेको थापाको शालिकमा माल्र्यापणसंगै उनको योगदानको चर्चा गरेका थिए ।
त्यस्तै भीमसेन थापा स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय विभूति थापाको सम्झना र सम्मानमा मामाको घर गोरखा नगरपालिका–४ सतिपिपलस्थित भीमसेन थापा स्मृतिपार्कमा माल्यापणलगायतको कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुनप्रताप राणाले जानकारी दिए ।
पिपलथोकमा आयोजित कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतले उनको शालिकमा माल्यापण गरेका थिए ।
राष्ट्रिय स्वाभिमान, स्वाधीनता र स्थायित्वका लागि अग्रेजसंग युद्ध लड्नु भएका थापा तत्कालीन राजदरबारको बिभिन्न षडयन्त्रमा परेर बन्दी अवस्थामा बि.स १८९६ साउन ८ गते प्राण त्याग गर्ने प्रयास गरेका थिए ।
सोही घटनाको ८ दिनपछि उनले वीरगति प्राप्त गरेको इतिहासमा उल्लेख छ । भीमसेन थापाले २३ बर्षको उमेरमा नै सरदार पदवी प्राप्त गर्न सफल भएका थिए । भीमसेन थापाको जन्मजयन्तीकै अवसरमा आज भीमसेन थापा गाउँपालिकाले पालिका भित्र सार्वजनिक विदा समेत दिएको थियाे ।


