गोरखा । गोरखाको किसानको जिवन स्तरमा सुधार गर्ने उद्वेश्य सहित १ लाख अलैंचीको बिरुवा बितरण गरिएको छ ।
गोरखा सदरमुकाममा रहेको स्वाँरा सघन नामक गैर सरकारी संस्थाले जिल्लाको ४ स्थानिय तहका ४९८ जना किसानलाई १ लाख अलैंचीको बिरुवा बितरण गरेको संस्थाका अध्यक्ष सिता राम श्रेष्ठले बताए ।
‘हामीले बिपन्न किसानको आयस्रोत बृद्वि होस भनेर बिरुवा बितरण गरेका हौ’ उनले भने ‘यसले किसानको जिवन स्तरमा सुधार ल्याउने अपेक्षा गरेका छौ ।’
संस्थाले किसान छनौट गर्दा सम्वन्धित पालिकाको समन्वयमा आयस्तर कम भएकाहरुलाई छनौट गरेको पनि उनले बताए ।
संस्थाले गोरखाको धार्चे, आरुघाट, सिरानचोक र अजिरकोटमा रहोका २० समूहका करिब ५०० किसानलाई उक्त परिमाणको बिरुवा बितरण गरेको हो । केही किसानले भने आफ्नो बारीमा बिरुवा रोप्ने काम समेत सम्पन्न गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
सिआरएसको साझेदारीमा स्वाँरा सघनले धार्चेको रुन्चेत र उहियाँ, आरुघाटको मान्बु र आरुपोखरी, सिरानचोकको पाम, चित्रेपोखरी, थालाजुङ र धारापानी तथा अजिरकोटको सिम्जुङ, खरिबोट र हंशपुरका किसानहरुलाई बिरुवा उपलब्ध गराएको हो ।
संस्थाले किसानलाई राम शाही जातको बिरुवा उपलब्ध गराएको हो । किसानलाई उपलब्ध गराएका मध्ये करिब ८० हजार बिरुवा भोजपुरबाट र जिल्लाकै मान्बु र आरुपोखरी क्षेत्रबाट २० हजार बेर्ना खरिद गरेर बितरण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
प्रति बिरुवा ११ रुपैयाँका दरले खरिद गरेर किसानलाई बितरण गरिएको पनि स्वाँरा सघनले जनाएको छ ।
नेपालको पहाडी ३६ जिल्लामा अलैंचीको खेती हुदै आएको छ । उद्यपी ९७ प्रतिशत अलैंची पूर्वी नेपालको १२ जिल्लामा खेती हुने गरेको छ ।
समुन्द्री सहतबाट ७०० मिटरदेखी १ हजार २०० मिटरसम्ममा खेती गर्न सकिने अलैंची आफुले लगाएको खेतीबारी नमासी गर्न सकिने खालको खेती भएको र बिदेश निर्यातमा राम्रो मूल्य पाउने भएका कारणले पनि किसानहरु यो खेती प्रति अकर्षित भएका हुन् ।



