गोरखा । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको ४३औंं स्मृति दिवसको अवसरमा आज प्रदेश अस्पताल गोरखामा उपचाररत विरामीहरुलाई फलफुुल वितरण गरिएको छ ।
कांग्रेस जिल्ला पार्टी समितिको सहयोगमा नेपाल विद्यार्थी संघ गोरखाले अस्पतालमा उपचार विरामीलाई स्वास्थ्य लाभको कामनासहित फलफुल वितरण गरेको नेविसंघका जिल्ला अध्यक्ष शिवहरी तिमल्सिनाले जानकारी दिए । सो अवसरमा अस्पतालमा उपचार ५० जना विरामीलाई फलफुल वितरण गरिएको हो ।
‘‘बीपी कोइरालाले राजनीति केवल सत्ताका लागि नभई जनताको सेवाका लागि हो भन्ने दृष्टिकोण राख्नुहुन्थ्यो । आजको दिनमा उहाँको स्मृतिमा सामाजिक सेवामार्फत उहाँको आदर्श पछ्याउने प्रयास गरेका छौं’’ उनले भने ।
पार्टीका कार्यवाहक जिल्ला सभापति धिरन थापाको नेतृत्वमा पार्टीका सहसचिव गगन अधिकारी, जिल्ला सदस्य राजनराज पन्त, नेविंसघका केन्द्रीय सदस्यहरु, जिल्ला समितिका सदस्यहरुसहित टोली फलफुल वितरणका लागि अस्पताल पुगेका थिए ।
त्यस्तै आजै नेपाली काग्र्रेस गोरखाको पार्टी कार्यालय ४३औं स्मृति दिवसको अवसरमा स्वर्गीय कोइरालाको शालिकमा माल्र्यापणसमेत गरिएको नेपाली कांग्रेस गोरखाका सहसचिव लुमनाथ लामिछानेले जानकारी दिए ।




















