गोरखा । औषधिय गुण भएको कालो बेसारका गोरखा सदरमुकाममा ब्यवसायीक खेती सुरु गरिएको छ ।
बि एण्ड बी कृषि तथा पशुपन्क्षी फर्मले गोरखा नगरपालिका–९ को लक्ष्मी बजार क्षेत्रमा कालो बेसारको ब्यवसायिक खेती सुरु गरेको हो ।
फर्मले पहिलो पटक २९ रोपनी क्षेत्रफलमा पहिलो पटक ब्यवसायिक खेती सुरु गरेको सञ्चालक यादव बस्नेतले बताए । ‘नेपालमा नै यती ठुलो क्षेत्रफलमा पहिलो पटक खेती गरिएको हो’ उनले भने ‘ब्यवसायिक रुपमा ठुलो क्षेत्रफलमा खेती गर्ने नै हामी हौ ।’
देशको विभिन्न भागमा खेती गरिएको भएता पनि ठुलो क्षेत्रफलमा अहिलेसम्म नगरिएको उनले जानकारी दिए । ‘एक दुई रोपनी र दुई चार रोपनीमा लगाउने धेरै छन् तर ठुलो क्षेत्रफलमा खेती हामीले मात्र गरेको हौ’ उनले भने ।
उनले राजधानीको बत्तिस पुतलीमा रहेको गोपाल एग्रो प्रालिबाट बिउ खरिद गरेर खेती गरेका हुन् । ७०० किलो बिउ लगाएका उनले २९ रोपनी क्षेत्रफलमा २३ हजारको हाराहारीमा बोट उत्पादन भएको बताए ।
‘राजधानीबाट सात सय किलो बिउ किनेर रोपेको हो’ उनले भने ‘अहिले तेइस हजारभन्दा बढी बेर्ना निस्किएको छ ।’ फर्मले खरिद गरेको एग्रो संगै प्राविधिक सम्झौता समेत गरेका छन् ।
सम्झौता अनुसार बेर्ना लगाउनेदेखी उत्पादन हुदासम्म प्रत्येक महिना प्राविधिक निरिक्षण र रोगको उपचार तथा उत्पादन भएको सबै बेसार खरिद गर्ने सहमती भएको सञ्चालक बस्नेतले बताए ।
कालो बेसारमा ३० खालका महत्वपूर्ण तत्वहरु पाइन्छ । खास गरी यो बेसारमा कम्फ्होर २८.३, ओसिमिन ८.२, टमेरोन १२.३, ब्रोनओल ४.४, कुर्मिन २.८२ र आर–कुर्मिन ६.८ प्रतिशत हुने गर्दछ ।
यो बेसार आयुवैधिक र एल्लोपेथिक औषधी उत्पादनमा प्रयोग हुने गर्दछ । डन्डीफोर, घाउ, चिलाउने रोगहरुको औषधीमा प्रयोग हुने गर्दछ । माईग्रेन हुनेहरुले २ देखी ४ थोपा रस नाकमा हालेमा रोग सन्चो हुने गर्दछ ।
त्यसका अलावा ग्याट्रिक, लेप्रोसी, ज्वरो, खटिरा, दम, दात दुखेको र फोक्सोको समस्या भएकाहरुले प्रयोग गर्ने औषधीमा समेत कालो बेसार प्रयोग हुने गर्दछ ।
उत्पादनमा पुरै १ बर्ष लाग्ने कालो बेसार बस्नेतले उक्त क्षेत्रफलबाट ८ देखी १० हजार केजी उत्पादन हुने अनुमान गरेका छन् ।
विश्व बजारमा राम्रो मूल्य रहेको कालो बेसार पहिलो पटक भारतमा देखिएको थियो । अहिले यो विश्वभर फैलिएको छ ।
जिन्जिबेरी फेमिलीको यो कालो बेसार जंगली जडिबुटीको रुपमा चिनिन्छ । यो भारत र नेपालको ओसिलो जंगलमा अहिले पनि सहजै देख्न सकिन्छ ।
यसका कोषहरु कालो हुने भएका कारण यसलाई कालो बेसार भनिएको हो । एउटा बोटमा सामान्यतया १० देखी २० वटासम्म पात हुने र बैजनी रातो रेखाहरु देखिन्छन् ।






