गोरखा । गोरखा क्याम्पस गोरखाकी उप–प्राध्यापक इन्द्रकुमारी देवकोटा वस्नेतद्वारा लिखित “भाषा, भाषा शिक्षण र भाषा शिक्षकको पेसागत उन्नयन” नामक पुस्तक विमोचन गरिएको छ ।
नेपाली भाषा शिक्षा विभाग, गोरखा क्याम्पसको आयोजनामा आज क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच पुस्तक विमोचन गरिएको हो ।
लेखक वस्नेतले पुस्तक लेखनको उद्देश्य, अनुभव र प्रेरणाको अनुभूति राख्दै आफुले लेखेको पुस्तकबाट शिक्षकहरुको पेशागत सीप र ज्ञान अभिबृद्धिमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।
बस्नेतद्धारा लिखित पुस्तक शैक्षिक अनुसन्धान, भाषा शिक्षणका सिद्धान्तहरु तथा पेसागत शिक्षण अभ्यासमा आधारित एक सशक्त कृति भएको विमोचनमा सहभागीले बताएकी छिन् ।
पुस्तकका विषयवस्तुबारे समीक्षा गर्दै विभागका सदस्य गोपालबाबु मरहट्टाले भने, “यो पुस्तक भाषा शिक्षणसम्बन्धी समसामयिक बहसमा आधारित अत्यन्तै उपयोगी र सन्दर्भपूर्ण कृति हो । यसले नेपाली भाषा शिक्षणका सैद्धान्तिक र व्यवहारिक पक्षहरु समेटेको छ ।”
गोरखा क्याम्पसका क्याम्पस प्रमुख नवराज पाण्डेले आफूले जानेका बिषयलाई सिर्जनात्मक ढंगबाट बाढ्न लेखक बस्नेत सफल भएको बताए । ‘‘उप–प्राध्यापक बस्नेतले पुस्तकको लेखनबाट आफ्नो क्षमता बाढ्ने थप अवसर पनि प्राप्त गर्नुभएको छ । यो पुस्तक क्याम्पस र विश्वविद्यालय दुवैका लागि गर्वको विषय हो।” उनले भने ।
गोरखा क्याम्पस नेपाली भाषा शिक्षा विभागका संयोजक ठाकुरप्रसाद खनालको अध्यक्षता भएको विमोचन कार्यक्रममा विभाग सदस्यहरु विष्णुहरि वाग्ले, विजुलीदेवी देवकोटालगायतले पनि भाषा शिक्षणको वर्तमान सन्दर्भमा पुस्तकको उपयोगिता र महत्वबारे प्रकाश पारेका थिए ।
क्याम्पस प्रमुख नवराज पाण्डेको प्रमुखआतिथ्यता तथा निवर्तमान क्याम्पस प्रमुख रामशरण वानियाँको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ गोरखा शाखाका सभापति रमेश अधिकारी, अंग्रेजी शिक्षा विभाग प्रमुख पूर्णमान श्रेष्ठ, कर्मचारी संघ प्रतिनिधि रेनु श्रेष्ठ, स्ववियु उपाध्यक्ष उमेश खनाललगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको व्यवस्थापन तथा सहजीकरण विभाग सदस्य मीना वाग्लेले गरेकी थिइन । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, पोखराका सह परीक्षा नियन्त्रक डा. रामनाथ न्यौपाने, क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा विविध शैक्षिक सरोकारवालाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।




















