फाईल तस्बिर
गोरखा । गोरखा जिल्लामा १ बर्षको अवधिमा ११ हजारभन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् ।
आर्थिक बर्ष २०८१–०८२ साना–ठुला गरी कुल ११ हजार ४३ वटा सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरिक्षक राजेन्द्र पौडेलले बताए ।
उनका अनुसार सबैभन्दा धेरै दुई पाग्रे सवारी कारवाहीमा परेका छन् । जिल्ला भित्रको विभिन्न स्थानमा गरी ४ हजार ८८४ वटा दुई पाग्रे सवारी कारवाहीमा परेका छन् । करिव ५ हजार मोटरसाइकल कारवाहीमा पर्दा ५० लाख १४ हजार ५०१ रुपैयाँ राजश्व संकलन भएको छ ।
कारवाहीमा पर्ने सवारीहरुले कागजात दुरुस्त नराखेको, मादक पदार्थ सेवन गरेर सवारी चलाएको तथा लापरर्वाही पूर्वक सवारी साधन चलाएकाहरु भएको प्रनानि पौडेलले बताए । ‘सकेसम्म हामीले सम्झाई बुझाइ गरेर छाडने गरेका छौ’ उनले भने ‘तर पनि पटक पटक गल्ती दोह¥याउनेलाई कारवाहीको दायरमा ल्याएका हौ ।’
कार्यालयले जिल्ला भित्रै कारवाहीको दायरामा ल्याएर नसचिएकाहरुलाई भने यातायात कार्यालय गण्डकी प्रदेशमा समेत चलानी गर्ने गरेको पनि उनले बताए ।
कार्यालयले दिएको जानकारी अनुसार दोस्रो स्थानमा कार÷जिप कारवाहीको परेका छन् । २ हजार ३८८ वटा कार÷जिप, १ हजार ७७६ ट्रक÷टिप्पर, १ हजार १८८ वटा बस, ७६४ वटा ट्याक्टर र ४३ वटा अन्य सवारी कारवाहीमा परेका छन् ।
कारवाहीमा परेको कार–जिबाट २० लाख ८४ हजार, ट्रक–टिप्परबाट १९ लाख ७० हजार ५००, बसबाट १० लाख ५२ हजार ५०० र अन्य सवारीबाट ३७ हजार राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।
उक्त संख्यामा कारवाहीमा परेका सवै सवारी साधनबाट १ करोड ७ लाख ७१ हजार १ रुपैयाँ राजश्व संकलन भएको पनि कार्यालयले जानकारी दिएको छ । जिल्लामा कारवाहीमा परेर यो अहिलेसम्मकै सबैभन्दा बढी राजश्व संकलन भएको प्रनानि पौडेलले बताए ।
गएको आर्थिक बर्ष ०८०–०८१ मा भने १० हजार ४७४ सवारी साधान कारवाहीमा पर्दा कुल राजश्व ८५ लाख ७१ हजार संकलन भएको थियो ।



