गाेरखा । भिमसेनथापा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता शिविर सञ्चालनमा आएको छ । शिविर हिजादेखि साउन १६ गतेसम्म विभिन्न वडामा चरणबद्ध रूपमा सञ्चालन गरिने गाउँपालिकाले जनाएकाे छ ।
तालिका अनुसार असार ३२ गतेदेखी साउन ४ गतेसम्म वडा नम्बर ४ र ५ का सेवाग्राहीलाई परिचय पत्र दर्ताका लागि समय छुट्टाएकाे छ ।
त्यस्तै साउन ५ गतेदेखी ७ गतेसम्म वडा नम्बर ६ र ७ का सेवाग्राहीका लागि शिविर सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत चित्रबहादुर अधिकारीले जानकारी दिए ।
साउन ८ गतेदेखी ११ गतेसम्म वडा नम्बर २ र ८ तथा साउन १२ गतेदेखी १४ गतेसम्म वडा नम्बर ३ र १ का सेवाग्राहीले सेवा लिन सक्ने तथा साउन १५ र १६ गते छुट भएका सवै वडाका सेवाग्राही पालिकामा स्वयम उपस्थित भएर राष्ट्रिय परिचय पत्र बनाउन सक्ने व्यवस्था गरिएको उनले बताए ।
शिविरमा सहभागी हुन चाहने सेवाग्राहीहरूले आवश्यक कागजातसहित तोकिएको मितिमा पालिकाको कार्यालयमा आएर सेवा लिनसक्ने गाउँपालिकाले जनाएकाे छ ।
राष्ट्रिय परिचय पत्रका लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको जन्ममिति नखुलेको भए जन्ममिति खुल्ने प्रमाणपत्र, नागरिकता प्रमाणपत्र उल्लेख भएभन्दा फरक ठेगाना भएमा ठेगाना प्रमाणित गर्ने वडा कार्यालयको सिफारिस, विवाह भएको भए विवाह दर्ता प्रमाणपत्र लगायतका कागजात आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले विशेष रूपमा विवाह भएको महिलाहरू, अपाङ्गता भएका व्यक्ति, एकल पुरुष वा महिला, चेपाङ, दलित, वृद्धवृद्धा, तथा अन्य पिछडिएको समुदायका नागरिकहरूलाई शिविरबाट अनिवार्य रूपमा सेवा लिन अनुरोध गरेको छ ।
साथै, शिविर सञ्चालनको समन्वयका लागि सम्बन्धित वडाका अध्यक्ष, सचिव तथा वडा सहायकलाई सक्रिय रहन निर्देशन समेत गरेकाे छ । शिविरले भिमसेनथापा गाउँपालिकाका नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सजिलो बनाउने विश्वास लिइएको छ ।


