गोरखा । नेपाल लोकतान्त्रिक खेलकुद संघ गोरखाको अध्यक्षमा शिवराम श्रेष्ठ चयन भएका छन् । गोरखा सदरमुकाममा आज भएको भेलाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
नेपाली काँग्रेसको पार्टी कार्यालयमा भएको भेलाले उपाध्यक्षमा गोरखा नगरपालिका–९ का तुलबहादुर गुरुङलाई चयन गरेको छ ।
सोही भेलाले प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ को अध्यक्षमा गण्डकी गाउँपालिका–२ का प्रकाश गुरुङ र क्षेत्र नम्बर २ को अध्यक्षमा अजिरकोट गाउँपालिका–४ का प्रविण गुरुङलाई समेत भेलाले सर्वसम्मत रुपमा चयन गरेको छ ।
आजको भेलाले आउदो साउन १३ गते बृहत भेला बोलाएर समितिलाई पूर्णता दिने सहमती भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार संघको केन्द्रिय प्रतिनिधी तर्फ क्षेत्र नम्बर १ बाट आरुघाट गाउँपालिका–२ का रमेश गुरुङ, गोरखा नगरपालिका–६ का दिपेन्द्र श्रेष्ठ र शहिदलखन गाउँपालिका–६ का स्मृती गुरुङ चयन भएकी छिन् ।
उता क्षेत्र नम्बर २ कोलागी अजिरकोट गाउँपालिका–४ का प्रेम तामाङ, सिरानचोक गाउँपालिका–६ का हरी कुमार थापा र सिरानचोक गाउँपालिका–१ की सुनिता गैरै रम्तेल चयन भएकी छिन् ।
आज निर्वाचित भएका पदाधिकारीहरुलाई नेपाली काँग्रेस गोरखाका सभापती नन्द प्रसाद न्यौपानेले खादा लगाएर सम्मान गरेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ नेपाली काँग्रेसको भातृ संस्था हो ।



