गोरखा । उत्तरी गोरखाको दुर्गम धार्चे गाउँपालिकामा घरमै बसेर विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य उपचार सेवा लिन सकिने गरि ‘टेलिमेडिसिन सेवा’ सञ्चालनमा ल्याइने भएको छ ।
ग्रामिण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकले स्थानीय स्वास्थ्यकर्मीको सहयोगमा चिकित्सकसंग भिडियोमार्फत परामर्स र उपचार सेवा पाउने गरि ‘टेलिमेडिसिन सेवा’ सुरु गर्न लागिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।
“विशेष गरि गर्भवती, सुत्केरी महिला तथा बालबालिकालाई लक्षित गरि यो सेवा सुरु गर्न लागिएको हो, उनले भने, “सेवा सञ्चालनमा ल्याउनका लागि वार्म नेष्ठ फाउण्डेसन, रिन्युएवल वल्र्ड र गोरेटो गोरखाको सहकार्यमा धार्चे गाउँपालिका र प्रदेश अस्पताल गोरखा विच सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।’’
गाउँपालिकाले साँझेदार संस्थाहरुको सहभागितामा अस्पतालसंग शुक्रबार सम्झौता गरेर सेवा सञ्चालनको प्रक्रिया अघि बढाइएको अध्यक्ष गुरुङको भनाई छ । गाउँपालिकाले पालिका भित्रका रहेका ७ वटा स्वास्थ्य चौकी र ११ वटा सामाजिक स्वास्थ्य इकाईबाट टेलिमेडिसिन सेवा प्रदान गर्न लागेको हो ।
गाउँपालिकामा “स्वास्थ्यका लागि ऊर्जा स्केल अप परियोजना’’ अन्तर्गत ‘टेलीमेडिसिन सेवा’ लागू गर्न लागिएको हो ।
टेलीमेडिसिन प्रणालीमार्फत स्थानीय स्वास्थ्यकर्मीले धार्चेबाटै भिडियोमार्फत खोर्लावेशी अस्पताल वा गोरखा अस्पतालका विशेषज्ञ चिकित्सकसँग परामर्श गरेर उपचार सेवा प्रदान गर्न सक्नेछन् । “टेलीमेडिसिन सेवा केवल प्रविधिको प्रयोग मात्र होइन, उनले भने, “यो त दुर्गम बस्तीमा बस्ने नागरिकमा सहज स्वास्थ्य सेवा पुर्याउने माध्यम पनि हो ।”
यसले बिरामीलाई विशेषज्ञ चिकित्सकको सल्लाहका लागि गोरखा सदरमुकाम वा अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । “धार्चेका आमाबुबा, गर्भवती महिला, बालबालिकालगायत सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा पुर्याउनका लागि निरन्तर पहल गरिरहेका छौ, अध्यक्ष गुरुङले भने, “पालिकाले सुरु गर्न लागेको यो सेवाले पालिकाबासीलाई थप सहज हुनेछ ।’’
प्रदेश अस्पताल गोरखाका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सिदार्थ खनालले टेलिमेडिसिन सेवाबाट स्वास्थ्य उपचारको पहुँच नभएका क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य उपचार सेवा पुर्याउन सहयोग पुग्ने बताए । यातायात, भौगोलिक विकटता र विशेषज्ञ चिकित्सकको अभावका कारण स्वास्थ्य उपचार सेवा लिन कठिनाइ भोग्दै आएका धार्चेका नागरिकमा टेलीमेडिसिन सेवाले नयाँ आशा जगाएको छ ।


