गोरखा । उत्तरी गोरखामा रहेको मनास्लु पदमार्गबाट लडेका १ जना युवकको ज्यान गएको छ ।
ज्यान गुमाउने ब्यती चुमनुब्री गाउँपालिका–३ सिर्दीबासका बर्ष ३० का थरपुन गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार असार २४ गते सोही गाउँपालिकाको वडा नम्बर ४ मा रहेको नामरुङ स्थित घरमा जान्छु भनि हिडेका उनी सम्र्पक बिहीन भएका थिए ।
उनका आफन्त, गाउँले र ईलाका प्रहरी कार्यालय लार्केको प्रहरी टोलीले खोजी गर्दा असार २५ गते बुधबार साँझ ७ बजेको समयमा लार्के स्थित मनास्लु पदमार्गको गोरेटो बाटोमा रहेको भिरबाट लडेर मृत अवस्थामा फेला थियो ।
गुरुङ गोरेटो बाटोबाट ३०० मिटर तल खसेको सूचना अधिकारी सुवेदीले बताए । गुरुङको शव आवश्यक कानूनी प्रकृया पुरा गरेर आफन्तको जिम्मा लगाएको पनि उनले जानकारी दिए ।


