गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–७ स्थित ढुङगागाडे– खाब्दी भन्ज्याङ सडक मर्मतपछि सञ्चालनमा आएको छ ।
हिजोको अबिरल बर्षापछी विहान सडक भासिँएर अबरुद्ध बनेको सडक झण्डै १४ घण्टापछि एकतर्फी सञ्चालनमा ल्याइएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय गोरखाले सडक मर्मत गरेर एकतर्फी सञ्चालनमा ल्याइएको उनले बताए । कार्यालयले क्षतिपुगेको सडकमा निर्माण कार्य सुरु गरेको छ ।
गतबर्षकै बर्खाका बेला आंशिक क्षति पुगेको उक्क्त सडक सोमबार बिहान पख परेको भीषण पानीले भासिँएपछि पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
लगातार सडक मर्मतको प्रयास गरिएको भएपनि पनि बजेट अभावका कारण काम अगाडी बढ्न सकेको थिएन । उक्त सडक मर्मतका लागि आगामी आर्थिक बर्ष २०८२-८३ का लागि गण्डकी प्रदेश सरकारबाट ढुङगाडे–बुङकोट–नाम्जुङ क्षेत्रको मुख्य बाटो मर्मतका लागि ७५ लाख बजेट विनियोजन भएको छ ।
भासिँएको सडकमा एक तर्फी रुपमा सवारी साधन सञ्चालनमा आएपछि सहिद लखन गाउँपालिका, गण्डकी गाउँपालिका, भीमसेन थापा गाउँपालिका आउजाउमा सहज भएको छ ।


