गोरखा । सरकार सबै नागरिकको साझा अभिभावक हो । सुशासन, विकासदेखि आवश्यक पर्दा स्वास्थ्य उपचारका लागि दिईने आर्थिक सहयोगमा राज्यले समान रुपमा नागरिकलाई उपलब्ध गराउनुपर्छ । तर गण्डकी सरकारले नागरिकलाई समान रुपमा त्यो सेवा उपलब्ध नगराई विभेदपूर्ण रुपमा दिने गरेको छ । यसको पछिल्लो उदाहरण राज्यले उपलब्ध गराउने आर्थिक सहयोगमा छर्लङ्ग देखिएको छ ।
गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले क्यान्सर, मुटु, मिर्गौला, पार्किन्सन्स, अल्जाईमर, स्पाइनल ईञ्जुरी, हेड ईञ्जुरी, कलेजो, सिकलसेल एनिमिया, अप्लाष्टिक एनिमिया, थालिसिमिया र मस्तिष्क आघात भएका गरीब तथा विपन्न विरामीहरुलाई आर्थिक सहयोग वितरण गर्दा भुगोल र राजनीतिक आस्थाका आधारमा गरेको पाइएको हो । त्यतिमात्र होईन पहुँचका आधारमा गरीब तथा विपन्न परिवारलाई दिनुपर्ने सहयोग हुनेखाने वर्गलाई वितरण भएको पाइएको छ ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को जेठ मसान्त सम्ममा ६३५ जनालाई ३ करोड ४० लाख ८५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यस सहयोगमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको गृहजिल्ला गोरखामा सहयोगको खोलो बगाइएको छ भने हिमाल पारिको जिल्ला मनाङ र मुस्ताङलाई भने सौतेनी व्यवहार गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गोरखामा सबैभन्दा धेरै १६५ जनालाई आर्थिक सहयोग उपलब्ध गराउँदा मनाङमा जम्मा १ जनालाई मात्र आर्थिक सहयोग गरिएको छ भने मुस्ताङमा केवल ५ जनालाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
कास्कीका ११९ जनालाई, स्याङ्जाका ८५ जनालाई, पर्वतका ६५ जनालाई, तनहुँका ५२ जनालाई, लमजुङका ४६ जनालाई, नवलपुरका ३५ जनालाई र म्याग्दीका ७ जनालाई आर्थिक सहयोग उपलब्ध गराइएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।
सरकारले उपलब्ध गराएको सहयोगपनि पहुँचवालालाई १ लाख र अन्यलाई १५ हजार मात्रै उपलब्ध गराईने गरेको पाइएको छ । गण्डकी सरकारले पछिल्लो साढे १० महिनामा २१४ जनालाई १ लाख रुपैयाँ उपलब्ध गराएको जनाएको छ ।
जसमा अधिकांश सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता रहेका छन् । त्यस्तै, ७५ हजार ३ जनालाई, ५० हजार ४१ जनालाई, २५ हजार ४१३ जनालाई, २० हजार २ जनालाई र १५ हजार ३ जनालाई उपलब्ध गराइएको सूचनामा उल्लेख छ ।
गण्डकी सरकारबाट १ लाखको सहयोग पाउने गोरखाका मात्रै ४९ जना छन् । बाँकी अन्य जिल्लाका छन् । यसरी आर्थिक सहयोग पाउनेहरु सत्तारुढ दल नेपाली कांग्रेसका जिल्ला स्तरका नेतादेखि पदाधिकारीसम्म रहेको सो पार्टी निकट नेताहरु बताउँछन् । जसमा गोरखाकै कांग्रेस पार्टीका जिल्ला पदाधिकारी रहेको श्रोतले बतायो ।


