काठमाडाैं । सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीहरूको नामावली सङ्कलन शुरू गरेको छ । इजरायलमा रहेको नेपाली दूतावासले सूचना निकालेर स्वदेश फर्कन चाहनेहरूको नामावली सङ्कलन शुरू गरेको जानकारी गराएको हो ।
दूतावासले सामाजिक सञ्जालमा सूचनासहित नाम दर्ता गर्नका लागि अनलाइन फारामसमेत सार्वजनिक गरेको छ । इच्छुहरूले अनलाइनमार्फत नामसहितको विवरण दर्ता गरेपछि उद्धारको प्रक्रिया अघि बढाउने दूतावासले जनाएको छ ।
इजरायल र इरानबीच युद्ध चर्किएपछि इजरायलमा त्रास बढेको छ । सरकारी तथ्याङ्क अनुसार इजरायलमा झन्डै ७ हजार नेपाली रहेकाे अनुमान गरीएकाे छ । यस्तै इरानमा समेत १२ जना नेपाली रहेका तथ्याङ्क फेला परेकाे छ । अहिलेसम्म उनीहरू सुरक्षित रहेकाे दूतावासले जनाएको छ ।
दुई देशबीचको युद्ध चर्किँदै गएपछि अरू देशले पनि इरान र इजरायलबाट आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् । चीनले आजदेखि इरानमा रहेका आफ्ना नागरिकको उद्धार शुरू गरेको छ । भारतले हिजैदेखि आफ्ना नागरिक फिर्ता ल्याउने काम थालिसकेको छ । यस्तै पाकिस्तानले पनि आफ्ना नागरिकलाई फिर्ता गरिरहेको छ ।


