काठमाडाैं । देशका विभिन्न ठाउँमा हल्कादेखि ठूलो वर्षा भइरहेको छ । कोशी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कतै–कतै ठूलो पानी परेको छ ।
कोशीका केही स्थानमा आज दिउँसो ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज दिउँसोपछि देशभर आंशिकदेखि सामान्य बदली रहने र धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
गएराति गण्डकी, मधेस, बागमती र कोशी प्रदेशका धेरैजसो ठाउँमा पानी परेको महाशाखाले जनाएको छ । पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन यसअघि नै गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँसम्म पुगिसकेको छ ।
अहिले कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिम भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ ।




















