गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले परम्परागत आरन व्यवसायलाई सुधारका लागि अनुदानमा आधुनिक औजार वितरण गरेको छ ।
पालिका भित्र लामो समयदेखि परम्परागत आरन व्यवसाय सञ्चालन गर्दै आएका १४ जनालाई आधुनिक औजार उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले बताए ।
‘‘परम्परागत सीपलाई प्रविधिमैत्री बनाउदै लैजान सके पुर्खादेखि गर्दै आएको पेशा व्यवसाय लोप हुने अवस्था पनि आउँदैन्, उनले भने, ‘‘आरन व्यवसायलाई थप व्यवसायिक बनाउन र प्रविधिमैत्री बनाउन पालिकाले अनुदान कार्यक्रममार्फत आधुनिक औजार उपलब्ध गराएको हो ।’’
अध्यक्ष भट्टले परम्परागत पेशालाई संरक्षण गर्दै नयाँ पुस्तालाई आकर्षित गर्न त्यसलाई प्रविधिमैत्री बनाउदै लैजाउनुपर्ने आवश्यकता रहेको बताए। ‘‘आधुनिक उपकरणको प्रयोगबाट व्यवसायीलाई छिटोछरितो औजार निर्माण गर्न मात्र सहयोग पुग्ने नभई कम लगानीमा धेरै उत्पादन गर्नसक्ने अवस्था बन्छ, उनले भने, ‘‘यसवाट उनीहरुको आयआर्जनमा पनि बृद्धि हुने र जीविकोपार्जनमा थप सहयोग पुग्छ।’’
पालिकाले प्रत्येक व्यवसायीलाई ३० हजार भन्दाबढीको आधुनिक औजार उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता जीतबहादुर नेपालीले जानकारी दिए । आधुनिक उपकरणहरुले उनीहरुको परम्परागत पेशालाई अझ प्रभावकारी र समय सापेक्ष बनाउने मद्दत पुग्ने उनको भनाई छ ।
गाउँपालिकाले पालिका भित्रका परम्परागत व्यवसायलाई प्रवद्र्धन गर्न लागि परेको हाे । ‘‘पछिल्लो समय परम्परागत आरन पेशा विस्तारै लोप हुँदै गएको छ, प्रवक्ता नेपालीले भने, ‘‘त्यसलाई जोगाउदै पुस्तानान्तरणका लागि पालिकाले अनुदान कार्यक्रम सञ्चालन गरेको हो ।’’
ग्रामिण क्षेत्रमा कृषिकर्ममा प्रयोग हुने कुटो, कोदालो, हँसिया, बन्चरोजस्ता औजार बनाउने यो पेशा पछिल्लो समय संकटमा पर्दै आएको छ ।
आरन सुधार कार्यक्रम अन्तर्गत पालिकाले व्यवसायीहरुलाई विद्युतीय पंखा, सुरक्षित पञ्जा, ग्रेडरलगायतका सामाग्री प्रदान गरेको छ ।
परम्परागत सीपको जगेर्ना र आधुनिक प्रविधिको प्रयोगमार्फत पालिकाले उद्यमशीलता र आत्मनिर्भरतालाई जोड दिदै आएको उनको भनाई छ ।


