गोरखा । गोरखा प्रहरीले लामो प्रयास पछी ३ जना पाकेटमारहरुलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिन सफल भएको छ ।
सार्वजनिक यातायातमा यात्रा गरीरहेका यात्रुहरुको ३ लाख ५० हजार रुपैयाँ पाकेटमार गरेको आरोपमा ३ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानाकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा गोरखा जिल्ला शहिदलखन गाउँपालिका–४ ताक्लुङ घर भई हाल चितवनको रत्ननगर नगरपालिका–११ सितलटोल बस्ने बर्ष ४९ का दिपक परियार, सोही स्थानका बर्ष ३५ का आशिक भूजेल र शहिदलखन गाउँपालिका–४ ताक्लुङक घर भई हाल चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने बर्ष ४३ का दान नारायण श्रेष्ठलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका सबैलाई आजै कार्यालय परिषर भित्रै सञ्चारकर्मीहरु बिच सार्वजनिक गरिएको थियो । प्रहरीले श्रेष्ठलाई चितवन पुगेर उनैको घरबाट पक्राउ गरेको थियो भने अन्य २ जनलाई भने गोरखा सदरमुकामको लक्ष्मीबजार क्षेत्रबाट पक्राउ गरेको सूचना अधिकारी सुवेदीले बताए ।
पक्राउ परेकाहरुले ०८१ साल फागुन ८ गते दिउसो १ः२५ बजेको समयमा गण्डकी गाउँपालिका–२ निवासी बर्ष ७१ का गिरीराज पन्तको साथमा रहेको १ लाख नगद चोरी गर्न सफल भएका थिए । पन्त गोरखा बजारबाट लक्ष्मीबजार तर्फ सार्वजनिक बसमा जादै गर्दा उक्त रकम चोरी भएको थियो ।
०८२ जेठ ७ गते अन्दाजी १२ बजेको समयमा गोरखा सदरमुकामको हरमटारीमा बस्ने बर्ष ८२ का गंगा बहादुर श्रेष्ठले भारतीय पेन्सन क्याम्पबाट बुझी ल्याएको २ लाख लक्ष्मीबजारदेखी गोरखा सदरमुकाम तर्फ आउदै गर्दा बाटोमा नै चोरी भएको थियो ।
त्यस्तैगरी, ०८२ साल जेठ ११ गते बिहान ११ बजेको समयमा लक्ष्मीबजारदेखी गोरखा बजार तर्फ आउदै गरेका शहिदलखन गाउँपालिका–५ बस्ने चोक बहादुर थापा मगरको साथमा रहेको ५० हजार चोरी भएको थियो ।
थापा मगरले पनि भारतीय पेन्सन क्याम्पबाट पेन्सन बुझेर गोरखा बजार तर्फ आउदै गर्दा सार्वजनिक बसमा लुटिएका थिए ।
पक्राउ परेका यूवकहरुले चोरी भएको तिनैवटा आरोप स्विकार गरेको पनि सूचना अधिकारी सुवेदीले जानाकारी दिए ।
पक्राउ परेका तिनै जना बिरुद्व चोरी सम्बन्धी कसूर मुद्वा दर्ता गरेर गोरखा जिल्ला अदालतबाट अनुसन्धानको लागी म्याद थप गरिएको छ । आरोपित सबैलाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।


