एजेन्सी । अमेरिकी सरकारले नेपालीलाई दिंदै आएको अस्थायी बसोबास सम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गरिदिएकाे छ ।
अमेरिकाको गृह सुरक्षा मन्त्रालयले सूचना निकालेर नेपालको अवस्थाको समीक्षा र सम्बन्धित साझेदार निकायहरूसँगको परामर्शपछि नेपालीले टीपीएसका लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने निष्कर्ष निकाल्दै खारेजी गरिदिएकाे हाे ।
मन्त्रालयले टीपीएस हैसियतमा अमेरिकामा बस्दै आएका नेपालीहरूको अरू हैसियतमा बस्ने वैधानिक आधार छैन भने अब स्वदेश फर्किने तयारी गर्न समेत भनेको छ ।
अमेरिकी गृह सुरक्षा मन्त्रालयको सूचना अनुसार टीपीएस सुविधामा अमेरिकामा बसिरहेका नेपालीले अबको २ महिनाभित्र स्वदेश फर्कनुपर्ने हुन्छ । ४ वर्षअघि सन् २०२१ को अन्त्यसम्ममा १४ हजार ५५६ नेपाली अमेरिकामा टीपीएस कार्यक्रमअन्तर्गत बसिरहेका थिए ।
९ महिनाअघि सार्वजनिक भएको अर्को तथ्याङ्कमा भने विश्वका १६ देशबाट ८ लाख ६३ हजार रहेकामा नेपालका ७ हजार ८७५ जना अमेरिकामा टीपीएस कार्यक्रमअन्तर्गत बसिरहेको उल्लेख छ । सन् २०१५ मा राष्ट्रपति बाराक ओबामाको प्रशासनले नेपालीलाई टीपीएसको हैसियत प्रदान गरेको थियो ।
टीपीएस सशस्त्र द्वन्द्व, वातवरणीय प्रलय लगायतका असाधारण सङ्कटमा रहेका देशका आप्रवासीलाई अमेरिकामा बस्ने र काम गर्ने अनुमति दिने कार्यक्रम हो ।
यसअन्तर्गत नेपाल, एल साल्भाडोर, निकारागुआ र होन्डुरसका आप्रवासी अमेरिकामा बसोबास गरिरहेका छन् । अब उनीहरुले अमेरिकामा वैध रूपमा बस्ने अधिकार गुमाएका छन् ।



