बैतडी । भारतबाट नेपाल फर्किएका सुदूरपश्चिम प्रदेशका ३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा २ पुरूष र १ महिला रहेकाे सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी फाेकल पर्सन हेमराज जोशीले जानकारी दिए ।
भारतको गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शङ्कास्पद ३६ जनाको परीक्षण गर्दा ३ जनामा सङ्क्रमण पुष्टि भएको हाे । उनीहरु सबैलाई होम आइसोलेसन बस्न भनिएको छ ।
सङ्क्रमण पुष्टि भएका सबैको पीसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । पीसीआर परीक्षणपछि उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ ।
भारत लगायतका विभिन्न देशमा कोभिड–१९ को सङ्क्रमण देखा परिरहेकाले नेपालमा पनि यसको सङ्क्रमण निम्तन सक्ने भएकोले सुदूरपश्चिमका सबै सीमानाकामा सतर्कता अपनाइएको छ ।
स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।


