एजेन्सी । भारतमा आईपील क्रिकेटको उपाधि विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को स्वागत समारोहमा भागदौड मच्चिँदा ११ जनाको ज्यान गएको छ ।
बेङ्गलुरुको चिन्नास्वामी रङ्गशाला बाहिर भागाभाग हुँदा ११ जनाको ज्यान गएको र अरु धेरै जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएकाे छ ।
१८ वर्षमा पहिलो पटक आईपीएल ट्रफी जितेको टोलीलाई स्वागत गर्न हिजो युवा, महिला, बालबालिका र वृद्धवृद्धाहरूसहित लाखौं मानिसहरू सडकमा निश्किएका थिए ।
त्यही क्रममा रङ्गशालाको गेटमै भागाभाग भएको थियो । रङ्गशालाकाे मुख्य ढोकाहरू नखुलेका कारण धेरै मानिसहरूले सानो ढोकाबाट भित्र पस्ने प्रयास गर्दा भागाभाग भएकाे प्रहरीको भनाइ छ ।
त्यहाँको घटनाबारे सार्वजनिक भएका तस्वीरहरुमा अनियन्त्रित भीडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको देख्न सकिन्छ ।
कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले सबैलाई आफ्नो सुरक्षाको ख्याल राख्न अपिल गरेका छन् । बेङ्गलुरुको टोलीलाई सम्मान गर्नका लागि बेङ्गलुरु विधानसभा भवनमा कार्यक्रमको आयोजना गरिएको थियो ।
गएकाे मङ्गलवार राति भएको आईपीएलको फाइनलमा बेङ्गलुरुले पन्जाब किङ्ग्सलाई ६ रनले पराजित गरेको थियो ।


