पाेखरा । देशकाे पर्यटकीय राजधानी पाेखरामा रहेकाे फेवातालको मापदण्ड कायम गर्न हिजाेदेखि पिल्लर गाड्ने काम शुरू भएको छ ।
२०८० साल मङ्सिर १३ गते गठित फेवातालको मापदण्ड कार्यान्वयन सहजीकरण समितिका संयोजक तथा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारीले पिल्लर गाडेर अभियानको थालनी गरेका हुन् ।
सर्वोच्च अदालतको आदेशबमोजिम फेवातालको उच्च बहाव हुँदाको विन्दुलाई आधार बनाएर ६५ मिटर मापदण्ड कायम गर्न पिल्लर गाड्न थालिएको हो ।
पोखरा महानगरको प्राविधिक टोलीले गरेको अध्ययन प्रतिवेदन अनुसार तालले ओगटेको क्षेत्रफलमा १ हजार २०० रोपनी क्षेत्रफल बढेको छ । फेवातालको सीमा १ हजार ५५ वटा भौतिक पिल्लर गाड्ने पोखरा महानगरपालिकाले जनाएको छ ।



