गोरखा । गोरखा जेसीजले आज एकदिने नेतृत्व विकास तालिम शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ। “मानवताको सेवा, जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल नाराका साथ आयोजित यस तालिमले युवाहरूमा नेतृत्वका आवश्यक सीप र ज्ञान प्रदान गर्ने लक्ष्य राखेको थियो ।
गोरखा जेसीजका अध्यक्ष सुमन गुरुङको अध्यक्षतामा सञ्चालित कार्यक्रममा जेसीआई नेपालका पूर्व राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उनले नेतृत्व विकास तालिमले युवाहरूलाई समाजमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्ने बताए । खनालले यस्ता तालिमहरूले व्यक्तिगत र व्यावसायिक जीवनमा सफल हुन आवश्यक सीप र ज्ञान प्रदान गर्ने कुरामा जोड दिए ।
कार्यक्रमका विशिष्ट अतिथि जेसीआई नेपालका पूर्व उपाध्यक्ष तेजप्रसाद उप्रेती ‘रमेश’ ले युवाहरूमा नेतृत्व क्षमता विकास गर्न जेसीजको भूमिका महत्वपूर्ण रहेको बताए । उनले यस्ता कार्यक्रमहरूले युवाहरूलाई आफ्नो समुदाय र राष्ट्रको विकासमा सक्रिय भूमिका खेल्न प्रेरित गर्ने विचार व्यक्त गरे ।
जेसीआई गोरखाका निवर्तमान अध्यक्ष अस्मिन ढुंगाना र पूर्व अध्यक्ष प्रविन बस्नेतले पनि कार्यक्रममा आफ्ना भनाइ राखेका थिए । उनीहरूले जेसीजले युवाहरूलाई नेतृत्व विकासका लागि प्रदान गर्दै आएको अवसरको प्रशंसा गर्दै यस्ता तालिमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
तालिमका प्रमुख प्रशिक्षक रमेश बस्ताकोटीले नेतृत्वका गुणहरू, निर्णय प्रक्रिया, टोली कार्य, सञ्चार कौशल लगायतका विषयमा गहन प्रशिक्षण प्रदान गरेका थिए ।
बस्ताकोटी जेसीआई नेपालबाट मान्यताप्राप्त प्रशिक्षक, बिसहजार जेसीजका पूर्व अध्यक्ष तथा अन्नपूर्ण पोष्टका पत्रकार समेत हुन् । तालिम संयोजन गोरखा जेसीजका कार्यकारी उपाध्यक्ष रचन परियारले गरेका थिए ।


