साँकेतिक तस्बिर
काठमाडौं । वैदेशिक रोजगारीमा अमेरिका र कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-४ पोखरी घर भएका ३० वर्षीय शक्ति खड्का र काठमाडौं महानगरपालिका-९ बस्ने सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१ घर भएका २७ वर्षीय प्रविन कुमार मण्डल रहेका छन् ।
पक्राउ मध्ये शक्तिले अमेरिका पठाइदिछु भन्दै १ जना पीडितबाट ५५ लाख रूपैयाँ र प्रविनले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्दै पीडितहरूले उजुरी दिए लगत्तै उनीहरुलाई पक्राउ गरीएकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएकाे छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीकाे टाेलीले शुक्रबार शक्तिलाई काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट र प्रविनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको थियाे ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं चलान गरिएकाे छ ।


