काठमाडाैं । देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।
आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान र बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
यसैबीच काठमाण्डौ उपत्यका, मधेश प्रदेशलगायत तराईका ठाउँमा केही दिनदेखि गर्मी बढ्दो रहेको छ ।
आज काठमाण्डौ उपत्यकाको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।
सबैभन्दा धेरै तापक्रम भैरहवामा ४० दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । देशभर गर्मी बढिरहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।




















