फाईल तस्बिर
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखाको पालुङटारमा सिने सिटी निर्माण गर्ने प्रस्ताव अघि सारेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोषण समारोहमा बोल्दै उनले नेपालको सिनेमा उद्योगको विकासका लागि प्राकृतिक सुन्दरताले भरिपूर्ण पालुङटार उपयुक्त गन्तव्य हुने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले पालुङटारको भौगोलिक र प्राकृतिक विशेषताको प्रशंसा गर्दै मस्र्याङ्दी नदी, हिमशृंखलाहरू र रमणीय दृश्यहरूले सिनेमा छायांकनका लागि आदर्श वातावरण प्रदान गर्ने उल्लेख गरे ।
“त्यहाँ एउटा सानो हाम फाल्ने पुल बनाऊँ । हिरोइन रिसाएर कुद्दै गएर मस्र्याङ्दीमा हाम फाल्छिन् । बहादुर हिरो उडेर गएर जम्प गर्दा पनि त्यहाँ खतरा हुँदैन । त्यसकारण बहुत खतरनाक ठाउँमा उसले हाम फाल्छ र हिरोइनलाई बचाउँछ ।
पालुङटारमा सिने सिटी बनायौँ भने माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश हिमालदेखि लाङटाङसम्मका हिमशृंखलाहरू पृष्ठभूमिमा देखिन्छन् । मस्र्याङ्दी नदीमा हिरो–हिरोइनको दृश्य खिच्दा दर्शक दंग पर्छन्,” उनले भने ।



