काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मंगलबार दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जानकारी दिएको छ । बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने पनि महाशाखाले जानकारी दिएको छ ।
कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
मंगलबार राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।


