काठमाडाैं । केही दिनयता निरन्तर घाम लागेका कारण देशैभरको तापक्रम बढेको छ ।
हिजो सबैभन्दा धेरै भैरहवाको तापक्रम ४० डिग्री पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै सिमरा र जनकपुरको ३९, विराटनगर र धरानको ३७ डिग्री सेल्सियस पुगेको छ ।
प्रि–मनसुनको अवस्था रहेको र २-३ दिनयता पर्याप्त वर्षा नभएका कारण देशैभर तापक्रम बढेको महाशाखाले जनाएकाे छ । तापक्रम वृद्धि मनसुन शुरू हुनुपूर्वको गतिविधि हो । यसलाई प्रि–मनसुनी गतिविधिकै रुपमा लिइन्छ । तापक्रम अझै बढ्दै जाने पनी महाशाखाले जनाएकाे छ ।
यसैबीच, देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।
आज दिउँसो कोशी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


