काठमाडाैं । देशका पहाडी क्षेत्रमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्न सक्ने अनुमान गरिएकाे छ ।
यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान छ । महाशाखाका अनुसार कोशी र बागमतीका पनि पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।
मधेस प्रदेशको थोरै ठाउँमा आज हावाहुरी चल्न सक्ने अनुमान महाशाखाले गरेकाे छ । तराई/मधेसका क्षेत्रमा गर्मी बढेको छ ।
हिजो भैरहवामा उच्चतम तापक्रम ४१.५ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार आज भैरहवाको उच्चतम तापक्रम हिजोको तुलनामा केही घट्न सक्ने सम्भावना छ ।
आज हिमाली केही क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।


