काठमाडौं । सरकार छाड्ने चेतावनीबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा) पछाडि हटेको छ । नाउपाका संरक्षक रेशम चाधैरीको पक्राउबारे सरकारको जवाफ र छानबिन मागेर नाउपाले यसअघि सरकार छाड्न सक्ने चेतावनी दिएको थियो ।
यही २२ वैशाखमा प्रतिनिधिसभाको बैठकमा बोल्दै नाउपाका सांसदहरूले सरकार छाड्ने चेतावनी दिएका थिए । त्यसपछि पनि संसदमा सांसदहरूले सरकारले जवाफ दिनुपर्ने र रेशम चौधरीको पक्राउबारे छानबिन हुनुपर्ने माग राखेका थिए ।
सांसदहरूको माग अनुसार बिहीबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले जवाफ दिए । त्यसक्रममा उनले रेशम चौधरीको पक्राउ प्रति दुःख व्यक्त गर्दै कुनै पूर्वाग्रह नराखेको बताएका थिए ।
यही १७ वैशाखमा नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए । तर, सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको थाहा लागेपछि रेशम चौधरी छुटेका थिए । त्यसक्रममा रशेम चौधरीले ५ घण्टा डिल्लीबजार कारागारमा बिताएका थिए ।
यो विषयमा गृहमन्त्रीले संसद्मा जवाफ दिएसँगै नाउपाले तत्काल सरकार नछाड्ने मनस्थिति बनाएको हो । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ गृहमन्त्रीको जवाफ सुनिएको बताउँछिन् । ‘गृहमन्त्रीले जवाफ दिनुभएको छ । सन्तुष्ट नै छौं हामी’ उनले शुक्रबार संसद् भवन परिसरमा पत्रकारहरूसँग भनिन् ।
पत्रकारहरूले ‘सरकार छाड्ने चेतावनी थियो । त्यसमा के भयो’ भनेर सोधेका थिए । अध्यक्ष श्रेष्ठले जवाफ दिइन्, ‘गृहमन्त्रीले जवाफ नदिनुभएको भए त्यो छुट्टै पाटो थियो । उहाँले भनेको निश्चित समयमा जवाफ दिइ सक्नुभएको भएर त्यो अहिले छैन ।’
पत्रकारले फेरि सोधे, ‘अहिले सरकारमै रहनुहुन्छ ?’
जवाफमा रञ्जिताले भनिन्, ‘हजुर ।’


