काठमाडौं । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ भाेलीदेखी हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर वैशाख २७ देखि ३० गतेसम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुने युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले जानकारी दिए ।
उनका अनुसार लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको औपचारिक उद्घाटन ललितपुरको होटल हिमालयमा भोलि (शनिबार) हुनेछ भने समापन मुस्ताङमा पुगेर हुनेछ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कार्यक्रमको समुदघाटन हुने समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा.आरज राणा देउवालगायत विभिन्न देशका पत्रकारहरुबाट सम्बोधन हुने युनियनका अध्यक्ष लम्सालले जानकारी दिए ।
नेपालमै पहिलो पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्न लागेकाे हाे । यसले नागरिक सम्वृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रुपन्तरणमा केही योगदान गर्ने अध्यक्ष लम्सालले जानकारी दिए ।
विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नु परेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभावबारेमा दक्षिण एसियासहित विभिन्न ६ मुलुकबाट आएका विषय विज्ञहरुको कार्यक्रममा प्रस्तुति रहने उनले बताए ।
विदेशी पत्रकारसहित करिब १५० पत्रकार सहभागी हुने मिडिया समिटको यात्रा काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङको लोमाङथाङसम्म हुनेछ ।
समिटको दोस्रो दिन पर्यटकीय नगरी पोखरामा ३ वटा विषयगत सेसनमा प्रस्तुती तथा बहस पैरवी हुनेछ । समिटको तेस्रो दिन पोखरादेखी मुस्ताङसम्म मिडिया यात्रा हुनेछ भने चौथो दिन मुस्ताङको जोमसोममा स्थानीय बासिन्दाका सहभागीतामा जलवाय संकटमा मिडियाको भूमिकाको बारेमा वृहत अन्तरक्रिया हुनेछ ।
सोही दिन लोमाङथाङ घोषणा पत्र जारी गर्ने प्रेस युनियनले जनाएकाे छ ।


