गोरखा । गोरखामा गएको ९ महिनामा ५८ जनाले आत्महत्या गरेका छन् । साउनदेखी गएको चैत्र मसान्तसम्म ५८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार जिल्ला भित्रको ११ स्थानिय तह मध्य ८ वटा स्थानिय तहमा मात्रै उक्त संख्याका मानिसहरुले आत्महत्या गरेका हुन् । जसमा अजिरकोट, चुमनुब्री र धार्चे गाउँपालिकामा हालसम्म आत्महत्या गर्नेको संख्या शून्य छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा बढी गोरखा नगरपालिकामा आत्महत्या गर्नेहरुको संख्या धेरै छ । जहाँ १८ जनाले आत्महत्या गरेका छन् ।
उता पालुङटार नगरपालिकामा ११ जना, बारपाक सुलिकोट गाउँपालिकामा ८ जना, आरुघाट गाउँपालिकामा ७ जना, शहिदलखन गाउँपालिकामा ४ जना र सिराचोक र भिमसेन थापा गाउँपालिकामा ३–३ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेहरुमा १ जना बालक, ५ जना बालिका, ३५ जना बयस्क पुरुष र १७ जना महिला रहेका छन् ।
किन गर्छन् आत्महत्या ?
आत्महत्या गर्ने मानिस वास्तवमा मर्न चाहँदैन, उसले आफ्नो पीडाको अन्त्य गर्न मात्र खोजेको हुन्छ । उसले जेजति कारणले होस् आफ्नो जीवनमा निराशाबाहेक अरू केही देख्न छाड्छ, अनि समाधानको मार्ग मृत्यु मात्र देख्छ । यो मार्गमा अग्रसर हुन व्यक्तिले आत्महत्याका अनेक उपायमध्ये कुनैलाई अपनाउँछ ।
मनोविज्ञानले भन्छ– स्बवेच्छाले स्वयंको ज्यान लिने कामलाई आत्महत्या भनिन्छ । यसमा जिम्मेवार अनेक कारण र विधि हुन्छन । तर आत्महत्याका अधिकांश मामिलामा मनोदशाको मुख्य भूमिका देखिएकै छ ।
अहिले विश्वमा आत्महत्याको दर बढ्दै गएको देखिन्छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेका विभिन्न अध्ययन प्रतिवेदनअनुुसार विश्वमा प्रत्येक ३ सेकेन्डमा आत्महत्याको प्रयास तथा प्रत्येक ४० सेकेन्डमा १ जनाले, १ दिनमा ३ हजार जनाले र १ वर्षमा करिब ७ लाख मानिसले आत्महत्या गर्दछन् ।
हाल नेपालमा आत्महत्याको दर २३.४ प्रति लाख छ । सरकारले भने सन् २०३० मा प्रति लाख ४.७ झार्ने लक्ष्य लिएको छ । नेपालमा १ दिनमा करिब १९ जनाले र प्रत्येक २ घण्टामा १ जनाले आत्महत्या गरिरहेको स्थिति रहेको छ ।
नेपालमा प्रति वर्ष १६ प्रतिशत मृत्युको कारण आत्महत्या हुनेगर्छ । १० वर्ष यताको अवधिमा नेपालमा ५३ हजार २९८ जनाले आत्महत्या गरेको देखिन्छ । एसियामा श्रीलङ्कापछि दोस्रो स्थानमा नेपाल पर्दछ । विश्वमा प्रत्येक १ लाख जनसङ्ख्यामा ११ जनाले आत्महत्या गर्छन् तर नेपालमा यो दर प्रति १ लाखमा २४ जना रहेको छ ।


