फाईल तस्बिर
नवलपुर । पानी परेका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने सडक अवरुद्ध भएकाे छ । नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेकाले यो सडकको नवलपरासी दाउन्ने क्षेत्रमा बाटो चिप्लो हुँदा गाडी रोकिएका छन् ।
वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । उनले अनुसार सडक चिप्लो भएर पूर्ण रूपमा सडक अवरुद्ध हुँदा यात्रा गर्ने यात्रु र गाडीलाई सकेसम्म वैकल्पिक सडकबाट यात्रा गर्न आग्रह गरे ।
सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गर्ने गरिएको छ । दाउन्नेमा यतिबेला गाडीको लामो लाइन छ ।
त्यस्तै हेटौँडा–काठमाडाैं जोड्ने कान्तिलोकपथ पनि अवरुद्ध छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।


