गाेरखा । सुनसरी बाट सशस्त्र प्रहरी बलले ७८३ किलोग्राम गांजा सहितको ट्रक र २ जना ब्यक्तिलाइ नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेश धरानको संयुक्त सुरक्षाफौजले गांजा सहितको ट्रक र त्यसका चालक तथा सहचालक लाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालका सह-प्रबक्ता शैलेन्द्र थापाले बताए ।
धरान उप – महानगरपालिका- १३ निशाने डाँडा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाइ शंका लागि चेकजाँच गर्दा उक्त परिणामको गांजा र ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो ।
ट्रकको ड्राइबर सिटमाथी बक्सा बनाएर २२ वटा पोकामा लुकाइ छिपाइ ल्याउंदै गरेको गांजा सहितको ट्रक, चालक सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका -१ बस्ने ३१ बर्षका मनोज परियार र सहचालक धनकुटा जिल्ला सिदुवा नगरपालिका-६ बस्ने १८ बर्षका आकाश राईलाई समेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
नियन्त्रणमा लिइएकाहरुलाई गांजा र ट्रक सहित आवश्यक कारवाहिको लागि बुधबार राती जिल्ला प्रहरी कार्यालय ईनरुवा सुनसरीमा बुझाइएको छ । यस अघि बुधबार बिहान मात्रै सशस्त्र प्रहरी बल बिपद ब्यबस्थापन बेश धनकुटाले ४२१ किलो गांजा सहितको कार नियन्त्रणमा लिएको थियो ।
यसैगरी सोही ठाउँबाट केराबारी पोल्टी र्फम प्रालिको बिल उल्लेख गरी १५० बोरा मल ल्याउदै गरेको ना ५ ख ३२०९ नम्बरको ट्रकलाई शंकालागी चेकगर्दा ट्रक भित्र अन्य सामान नभए पनि फल्स बटम बनाएको देखिएपछि नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय ईनरुवा सुनसरीमा बुझाइएको सह-प्रवक्ता थापाले बताए ।
तस्बिर : सशस्त्र प्रहरी बल नेपाल


