काठमाडौं । सरकार र शिक्षक महासंघबीच निर्णायक वार्ता आज दिउसाे हुने भएको छ । सोमबार र मंगलबार राति अबेरसम्म बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो बस्ने वार्ता निर्णायक हुने बताइएको हाे ।
महासंघ सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार वार्ता दिउँसो २ बजेका लागि तय गरिएको छ । शिक्षक महासंघको आज बिहान बसेको बैठकले वार्तामा जाने र सरकार जसरी प्रस्तुत हुन्छ महासंघ पनि त्यसैगरी प्रस्तुत हुने निर्णय गरेको छ ।
यसअघि मंगलबार राति भएको वार्तामा महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको छ । सो प्रस्तावमाथि आज छलफल हुने छ । मन्त्रिपरिषद्बाट ९ बुँदे पास भएमा आन्दोलनको मोडालिटी फेर्ने महासंघकाले बताउँदै आएकाे छ ।
मंगलबार रातिको बैठकपछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको र आज टुंगोमा पुग्ने बताएका थिए ।
शिक्षक महासंघको ९ बुँदे प्रस्तावमा विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब,सामाजिक सुरक्षा कोष,दुर्गम भत्ता,ग्रेड समायोजन,मर्यादा क्रम,अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था,निमावि प्रथम र ममावि द्वितीयको तलबम, प्रधानाध्यापकको विषय, राहत शिक्षक लगायतका विषय समेटिएको छ ।



