काठमाडाैं । सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सकारात्मक तर्फ बढेको छ । गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता सकारात्मक तर्फ बढेकाे संकेत देखिएकाे हाे ।
सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरका थिए भने शिक्षक महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेका थिए ।
वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए । उनले केही विषय टुङ्गो लगाउन बाँकी रहेकाेले वार्ता सकारात्मक रूपमा अगाडि बढेको बताए ।
वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको समेत उनले जानकारी दिए ।
महासङ्घका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए । उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने बताए ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधवारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने बताए ।
विद्यालय शिक्षा ऐनलगायत माग राखेर शिक्षकहरूले गएको चैत २० गतेदेखि काठमाडाैं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।



