काठमाडाैं । प्रि–मनसुनी प्रणाली फेरि सक्रिय भएका कारण आज दिउँसोदेखी पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मौसममा बदली भएको महाशाखाले जनाएकाे छ । यसको प्रभावले आज र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।
आज दिउँसोपछि मधेश र बागमती प्रदेशसहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्न सक्ने महाशाखाले जनाएकाे छ ।
कोशी र गण्डकीका केही ठाउँमा पनि हल्का पानी पर्ने सम्भावना छ । काठमाडाैं उपत्यकामा पनि छिटपुट वर्षा हुन सक्ने अनुमान छ । पानी पर्याे भने बढ्दो तापक्रमबाट केही राहत पुग्नेछ ।
मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा उच्च गर्मीले जनजीवन प्रभावित हुँदै आएको छ । केही दिनदेखि तराईका भेगमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन भएको छ ।


