काठमाडाैं । आन्दोलनरत शिक्षकहरु र सरकार बीच आज बिहान भएको वार्ता निष्कर्षविहिन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा मन्त्री रघुजी पन्तसहित बसेको बैठक विना निष्कर्ष सकिएको हो ।
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएपछि यो पहिलो वार्ता हो । हिजो दिउँसो मन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै बेलुका शिक्षकका केही प्रतिनिधि सिंहदरबार पुगेका थिए । तर औपचारिक वार्ता र छलफल भएन ।
आजको वार्तापछि नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुका माग र आन्दोलनबारे जानकारी गराउने काम मात्रै भएको तर यो छलफल र सम्वादलाई निरन्तरता दिने बताए ।
उनले वार्ता ठोस निष्कर्षमा नपुग्दासम्म आफूहरुको आन्दोलन नरोकिने पनि बताएका छन् । अर्को बैठक कहिले बस्ने टुङ्गो लागेको छैन ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत्र २० गतेदेखि काठमाडाैंमा प्रदर्शन गर्दै आएका छन् ।


