गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाबाट निर्वाचित भएपछि आफु अलिबढी काठमाडौँ अल्झिएको भएपनि गोरखालाई नविर्सिएको बताका छन् ।
गोरखा भुकम्पको केन्द्रबिन्दु बारपाक सुलिकोट गाउँपालिका–२, बारपाकमा आज आयोजित भुकम्प स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले गोरखाको विकास निर्माणको कामलाई अगाडी बढाउन सक्दो पहल र प्रत्यन्न गरिरहेको बताएका हुन् ।
गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सांसद समेत रहनु भएका उनले गोरखाको विकासका लागि गरेका प्रतिवद्धताहरु नविर्सिएको र जनप्रतिनिधिको हैसियतले यहाँका जनताको समस्यालाई नजिकबाट बुझेको उल्लेख गरे ।
अब बाँकी रहेको साँसदको साढे दुई बर्ष गोरखाको विकास निर्माणको क्षेत्रमा विगतमा भन्दा अझबढी ध्यान दिने उनले प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष दाहालले भुकम्पको केन्द्रबिन्दु बारपाकमा २८ करोडको ढल निकासको परियोजना सुरुभएको तथा १० करोडको बारपाक बृहत खानेपानीको स्रोत सुनिश्चित भइसकेकाले बारपाकको विकास अघि बढेको बताए ।
अहिले संघीय लोकतान्त्रिक गणतन्त्र माथि प्रहार गर्ने जमर्के भइरहेकाले त्यसलाई बिरुद्ध सवै एकजुट हुनुपर्नेमा उनले जोड दिए । ‘‘गणतन्त्रले केही पनि भएन् भनेर त्यसमाथि प्रहार गर्ने जमर्के भइरहेको छ , उनले भने, इतिहासलाई फर्काउन खोज्ने प्रतिक्रियाबादी र तानाशाही प्रवृत्तिलाई परास्त गर्नुपर्ने आवश्यकता छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरण, विकास र सम्बृद्धि जनताको जीवनस्तर उठाउनु देशको अहिलेको मुख्य कार्यभार भएको बताए । उनले जनतालाई नयाँ जीवन दिन नेपालमा ठूलो सम्भावनाहरु रहेको बताउँदै ती सम्भावनाहरुलाई पक्डिएर राज्यले फड्कोमार्न सक्नुपर्नेमा जोडदिए ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली जनताको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नचाहाने तत्वहरु अहिलेपनि त्यसलाई खोस्न कोशिस गरिरहेको बताए । बिंस २०४८ साल अघिको गोरखा र अहिलेको गोरखाको तुलना गरेर जनतालाई महसुस गराउनुपर्ने उनको भनाई थियाे ।


