गोरखा । गोरखाको बारपाक केन्द्र विन्दु भएर गएको विनासकारी गोरखा भुकम्पको १० बर्ष पुरा भएको छ । भुकम्पले गोरखा जिल्ला भित्रमात्र ४७१ जनाले ज्यान गुमाएका थिए भने भुकम्पको केन्द्र बिन्दु बारपाकमा ७२ जनाले ज्यान गुमाए ।
भ्यू टावरबाट देखिएकाे बारपाक गाउँ
भुकम्पको ‘इपिसेन्टर’ बारपाक गाउँ वीरताको गाथा कोरिएको ऐतिहासिक एवं पर्यटकीय गाउँ हो । बिं.स २०७२ साल बैशाख १२ गते बिहान ११:५६ मिनेटमा गएको ७.८ म्याग्नेच्यूडको विनासकारी भुकम्पले पर्यटकीय सुन्दर गाउँ बारपाक क्षणभरमा तहसनहस बन्यो ।
बुद्धपार्क संगै रहेकाे पुरानाे चाैताराे
गाउँका कुनै घर बाँकी रहेनन् । पुनःनिर्माण सकिएसंगै बारपाकबासीले भुकम्पको पीडा पनि भुल्दै गएका छन् । पुराना शैलीमा घर नवनेपनि बारपाक गाउँमा आधुनिक शैलीका घरहरु बनिसकेका छन् । अर्थात भुकम्पपछिको पुनःनिर्माण लगभग सकिएको छ ।
भूकम्प स्मृती पार्क
भुकम्पपछि बारपाकमा अहिले १ हजार ४५० भन्दाबढी घर पुनःनिर्माण भइसकेको छ । ‘‘परम्परागत शैलीको घरहरु त बनाइएन् तर आधुनिक शैलीका घरहरु लगभग बनिसकेका छन्, स्थानीयबासी सुशिला घलेले भने, ‘‘भुकम्पको एकै झड्काबाट ठूलो क्षति व्यहोरेका बारपाकीले फेरी पुरानै शैलीको ढुङ्गैढुङ्गा र काठले बनेका परम्परागत मौलिकता बोकेका घर बनाउने आँट भने गर्न सकेनन् ।’’
पुराना घरकाे साटाे नयाँ घर बनाउदै बारपाक बासी
भुकम्पपछिको पुनःनिर्माणले बारपाकको स्वरुप र पहिचान पनि वदली दिएको छ । एउटा ठूलो सुन्दर गाउँ अहिले सुन्दर शहर जस्तै बनेको छ । ‘‘हामीलाई बारपाकको चिनारी दिने घर बनाएर बस्न मन नभएको भने होइन्, उनले भने, ‘‘तर सुरक्षित हुँदैन भन्ने अनूभूति बारपाकीले गरेपछि आधुनिक शैलीका घर बनाउनुको कुनै विकल्प रहेन् ।’’
काेर्काेमा बालक बाेक्दै र स्थानिय भेषभूषामा महिला
बारपाकमा नीजिआवास पुनःनिर्माण लगभग सकिएको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाकका वडाध्यक्ष घनबहादुर घले बताए । ‘‘भुकम्पपछि यहाँका मौलिक चिनारी भने बचाउन सकिएन्, उनले भने, ‘‘बारपाक त बारपाक नै हो तर पुरानो मौलिक बारपाक होइन, अहिले नयाँ र आधुनिक बारपाक बन्यो ।’’
परिबर्तित बारपाक गाउँ
पुराना मौलिकता बोकेको घरहरु नबनेपनि बारपाकको सुन्दरता भने कत्तिपनि हराएको छैन् । बारपाकीले भुकम्पबाट गुमाएको मात्र पनि छैन् । मौलिक पहिचान बोकेको लाहुरेको गाउँ बारपाकलाई गोरखा भुकम्पपछि ‘इपिसेन्टर बारपाक’ भनेर पनि चिनिने गरेको छ । यसले बारपाकको चिनारीलाई अझै बढाउँदै लगेको छ । भुकम्पबाट गोरखा सहित १४ जिल्ला अतिप्रभावित बन्यो भने देशभरका ३१ वटा जिल्लामा गोरखा भुकम्पले क्षति पुर्याएको थियो ।
थपिदै आर्कषक आन्तरिक पर्यटकीय गन्तव्य
भुकम्पको इपिसेन्टर बारपाक अहिले पुनः निर्माण मात्र भएको छैन् । बारपाक घुम्न आउने पर्यटकलाई लक्षित गरेर बारपाक गाउँ भित्रै आर्कषक आन्तरिक पर्यटकीय गन्तव्य थपिदै लगिएको छ ।
स्थानिय महिला दाउरा संकलन गरेर गाउँ तर्फ आउदै
गाउँपालिकाको पहलमा आन्तरिक तथा बाह्य पर्यटकलाई बारपाकमा लोभ्याउन नयाँनयाँ घुम्नलायक गन्तव्यको विकास गर्दै गएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए । अव बारपाक घुम्न आउने पर्यटकले बारपाक भित्रै कलात्मक ‘बुद्ध पार्क’ पनि घुम्न पाउनेछन् ।
बुद्धपार्क
बारपाकस्थित ताक्लेनान डाँडामा करिब ४५ लाखको लागतमा निर्माण गरिएको ‘बुद्ध पार्क’ अहिले बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य पनि बन्दै गएको छ । उक्त पार्कमा बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्काइएको छ ।
बुद्धपार्कबाट देखिएकाे काेटकाली तर्फकाे बारपाक गाउँ
भुकम्पपछि सिंगो गाउँलाई एकैठाउँबाट दृष्यावलोकनका लागि गाउँपालिकाले निर्माण गरेको ‘भ्यु टावर’ बारपाकको आन्तरिक अर्को आर्कषक गन्तव्य बनेको छ । त्यस्तै भुकम्पमा ज्यान गुमाएको सम्झनामा निर्माण भइरहेको भुकम्प स्मृति उद्यानको काम लगभग अन्तिम चरणमा रहेको अध्यक्ष भट्टले जानकारी दिए ।
भूकम्प स्मृती पार्क
अध्यक्ष भट्टले बारपाक गाउँ अहिले पहाडको शहरको रुपमा रुपमा स्थापित हुँदै गएको बताए । ‘‘इपिसन्टेर हेर्न र घुम्नका लागि देश भित्रका मात्र होइन बाहिरबाट पनि थुप्रै पर्यटक बारपाक आउन थालेका छन्, उहाँले भन्नुभयो, ‘‘भुकम्पले थलिएको बारपाक अव तङग्रिसकेको छ ।’’
बुद्धपार्कबाट देखिएकाे काेटकाली तर्फकाे बारपाक गाउँ
बारपाकका सानानानीहरु खेल्दै
बारपाककाे परिमारर्जित मनिडाडाँ
भ्यू टावरमा टिकटक बनाउदै आन्तरिक पर्यटक
















