एजेन्सी । भारतको नयाँ दिल्लीस्थित मुस्तफावाद क्षेत्रमा भारी बर्षापछी ४ तले भवन भत्किँदा कम्तीमा ४ जनाको ज्यान गएको छ । यो घटना शनिबार बिहान करिब २:३० बजे भएको भारतीय सञ्चार माध्यमहरुले जनाएकाे छ ।
भग्नावशेषमा अझै १० जनाभन्दा बढी फसेको आशंका गरिएको छ । राष्ट्रिय आपदा मोचन बल र दिल्ली प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको छ ।
डिभिजनल अग्नि नियन्त्रक राजेन्द्र अटवालले घटनाको पुष्टि गर्दै आफूहरूलाई बिहान करिब २:५० बजे घर भत्किएको जानकारी प्राप्त भएको बताए । उनले भने, ‘जब हामी घटनास्थलमा पुग्यौँ, हामीले पूरै भवन भत्किएको र मानिसहरू भग्नावशेषमा फसेको पायौँ । प्रहरीसँगको सहकार्यमा उद्धार कार्य सुरु गरिएको छ ।’
शुक्रबार राति दिल्लीको मौसम अचानक बदलिएको थियो । भारी वर्षा र आँधीबेहरीका कारण धेरै क्षेत्रमा क्षति पुगेको छ । यही कारणले गर्दा मुस्तफावादको भवन पनि ढलेको मानिन्छ ।


