काठमाडौं । ‘एटी अलर्ट’ मार्फत फिसिङ लिङ्क पठाइ ४ हजार ग्राहकको १ करोडभन्दा बढी रकम चोरी भएको पाइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सो कार्यमा संलग्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भइ हाल काठमाडौंको अनामनगर बस्ने २२ वर्षीय राहुल बुढालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार राहुलले विभिन्न व्यक्तिहरूलाई एसएमएस मार्फत ‘द अलर्ट, एटी अलर्ट’ जस्ता फिसिङ लिङ्क पठाई तपाईंको खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिई भेरिफाइको लागि लिंक खोल्न लगाएर इसेवामा अनाधिकृत पहुँच पुर्याउने गरेका थिए ।
यसरी उनले ४ हजार भन्दा बढी व्यक्तिहरूको इ-सेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इन्नोभेसन प्राइभेट लिमिटेडको मर्चेन्ट खाताहरुमा १ करोड २ लाख रुपैयाँ बराबरको रकम ट्रान्सफर गरी चोरी गरेको प्रहरीले जनाएको छ ।
राहुललाई वैशाख २ गते कालीमाटीबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।




















