गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाेरखाका स्व. चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थको आज लोकार्पण गरेका छन् । न्यौपानेको पहिलो वार्षिक स्मृतिको अवसरमा ग्रन्थ लोकार्पण गरिएको हो ।
सिरानचाेक गाउँपालिका छोप्राकका न्यौपाने कांग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी रहेको ग्रन्थ लोकार्पण कार्यक्रममा सभापति देउवाले बताए । न्यौपाने कांग्रेसबाट तत्कालीन जिल्ला विकास समिति गोरखाको सभापतिसमेत थिए ।
न्यौपानेलाई आफूले कांग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायीको रुपमा चिनेको सभापति देउवाले बताए । न्यौपानेका परिवारले नेपालको राजनीतिमा, प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान गरेको सभापति देउवाले बताए ।
‘स्व.चन्द्रप्रसाद न्यौपानेलाई मैले नेपाली कांग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायीको रुपमा चिनेको छु । उहाँहरूको नेपालको राजनीतिमा, प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान रहेको छ । दाजुको पाइला पछ्याउँदै चन्द्रप्रसाद न्यौपानेले नेपाली कांग्रेसमा सक्रिय भइ भूमिका खेल्नुभयो,’ सभापति देउवाले भने ।
सभापति देउवाले न्यौपानेका दाजु कृष्णप्रसादलाई आफूले जेलमा भेट गरेको र उनी नझुक्ने, जुझारू व्यक्तित्वका रूपमा आफूले पाएको देउवाको भनाइ थियो ।
ग्रन्थ लोकार्पण कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस नेता मीनेन्द्र रिजाल, चीनकाजी श्रेष्ठ, कमला पन्त, किरणबाबु श्रेष्ठ, अब्दुल सतारलगायतले धारणा राखेका थिए ।




















