काठमाडौं । नेपालमा चट्याङमा परी एकै दिनमा ५ जनाको ज्यान गएको छ । राष्ट्रिय विप्द जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न ५ जिल्लामा ५ जनाले ज्यान गुमाएका हुन् ।
ज्यान गुमाउनेमा झापाको गौरादह नगरपालिका–५ स्थित बालुबथानमा ५४ वर्षीय पुरुषको ज्यान गएको छ । पानीसँगै परेको चट्याङको झड्का लागेर उनको ज्यान गएको हो ।
मोरङको कानेपोखरी गाउँपालिका–१ मा १२ वर्षीय बालकको ज्यान गएको छ । धनुषाको नगराईन नगरपालिका–८ अकौरामा ६० वर्षीया महिलाको ज्यान गएको छ । खेतमा गएको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमा नै ज्यान गएको प्राधिकरणले जनाएको छ ।
डोटीको सायल गाउँपालिका–६ दल्लेखमा ३३ वर्षीया महिलाको ज्यान गएको छ । सो स्थानमा ७ जना घाइते भएका छन् । बझाङको बित्थडचिर गाउँपालिका–३ मा ७८ वर्षीया महिलाको ज्यान गएको छ । सो ठाउँमा २ जना बालिका घाइते भएका छन् ।




















