काठमाडाैं । देशका विभिन्न ठाउँमा हिजोदेखि परेको पानीले प्रदूषण घटाएको छ । हिजो र अस्तिको तुलनामा आज वायु प्रदूषण निकै कम भएको छ ।
हावाहुरीसँगै परेको पानीले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन सहयोग पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वायुको गुणस्तर मापन गर्ने एअर क्वालिटी इन्डेक्सका अनुसार अहिले काठमाडाैंको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ११२ मा झरेकाे छ । आज बिहान एक्यूआई १९० भन्दा माथि थियो । लामो समयसम्म वर्षा नहुँदा काठमाडाैंको एक्यूआई झन्डै ३०० भन्दा माथि पुगेको थियो ।
एक्यूआई ० देखि ५० सम्म राम्रो, ५१ देखि १०० सम्मको एक्यूआईलाई सचेत हुनुपर्ने, १०१ देखि १५० सम्मलाई अस्वस्थ, १५१ देखि २०० सम्मको एक्यूआईलाई झन् अस्वस्थ, २०१ देखि ३०० लाई धेरै अस्वस्थ र ३०१ देखि माथिको एक्यूआईलाई खतरनाक मानिन्छ ।
बिहानसम्म काठमाण्डौ विश्वकै प्रदूषित शहरको पहिलो सूचीबाट हटेर १४औं नम्बरमा झरेको छ । प्रदूषणसँगै तुवाँलो पनि हट्दै जाने महाशाखाले जनाएकाे छ ।
आज र भोलि देशका धेरै ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिमाली भेगमा हिमपातको पनि सम्भावना छ ।




















